झापाको चन्द्रगढीमा सम्झिइए बिपी

भद्रपुर । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको ३८औं स्मृति दिवसको आज चन्द्रगढीमा विशेष कार्यक्रम गरिएको छ । बिपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० स्थित बिपी चौकमा रहेको स्मारकमा माल्यार्पण तथा विचार गोष्ठी गरिएको हो ।

कार्यक्रममा सहभागी वक्ताहरूले बिपीको विचार अनुसरण गर्न नसकिएकै कारण देशमा कम्युनिष्टले मनपरी शैलीमा राज्य सञ्चालन गर्दा संकट उत्पन्न भएको आरोप लगाए । उनीहरूले काँग्रेस नेतृत्वले बिपीको समाजवादी चिन्तन भुल्दै गएको प्रति चिन्तासमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटी, नेपाल महिला संघका केन्द्रीय सदस्य गोमा भट्टराईलगायतले मन्तव्य राख्दै अधिनायकवाद उन्मुख सरकारको कार्यशैलीले नागरिकले दुःख पाएको आरोप लगाउँदै काँग्रेसले देश र जनताका लागि सशक्त आवाज उठाउनु पर्ने दिन आइसकेको बताएका छन् ।

भद्रपुर नगर सभापति मोहन महर्जनको अध्यक्षता तथा नेपाली काँग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, जिल्ला सभापति उद्धव थापा, प्रदेश सांसद ओमप्रकाश सरावगी लगायत नेपाली काँग्रेसमा आस्था राख्ने अगुवा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

बिपी कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए ।

तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनु परेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रवादी भावना लिएर राष्ट्रिय मेलमिलापको नीतिसहित भारतको निर्वासन जीवन त्यागी स्वदेश फर्किका थिए ।

विपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दूरगामी महत्वको दर्शन प्रतिपादन गरेका छन् ।

shajhaman.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker