गाँउपालिकाको कार्यालय सार्न स्थानीयको माग

कमल । झापाको कमल गाँँउपालिकाको केन्द्र उपयुक्त ठाँउमा नभएको भन्दै स्थानन्तरण गर्न स्थानीयले माग गरेका छन् ।
कमलका २५० जनाको हस्ताक्षार संकलन गरि गाँउपालिका भरिका सेवाग्राहीलाई पायक पर्ने ठाँउमा केन्द्र राख्नु पर्ने माग सहितको ज्ञापन पत्र गाउँपालिकामा बुझाएका छन् ।

स्थानीय सरकार गठनपछि गाउँपालिका स्तरिय सबै राजनितिदल प्रमख संग भएको छलफलमा सेवाग्रहिलाई उपयुक्त हुने स्थान सितापुरी जिवनचोक आसपासको क्षेत्रमा गाउँपालिकाको भवन हुँदा उपयुक्त हुने भनिएपनि स्थानीय सरकार वनेको तीन वर्ष पुग्न लाग्दा समेत पूरानै ठाँउमा केन्द्र रहेकाले त्यहाँबाट सञ्चालित सेवा प्रभावकारी हुन नसकेकाले सवै सेवाग्रहीको सुविधा हुने स्थानमा गाँउपालिकाको केन्द्र राख्नु पर्ने माग अघि सारिएको सामूहिक माग पत्रमा उल्लेख गरिएको छ ।
हाल गाँउपालिकाको केन्द्रबाट गाँउपालिका भरिका सेवाग्रहीलाई सेवा दिन पर्याप्त सुविधा नभएकाले त्यसले गर्दा चर्को सास्ती खेप्नु परेको उल्लेख गरेका छन्
यसअघि दलीय सहमतिमा गाँउपालिकाको कार्यालय पूर्वपश्चिम राजमार्ग आसपासमा भुगोल,वसोवास तथा सुरक्षाका दृष्ट्रिले समेत उपयुक्त ठाँउमा राख्ने निर्णय भएको माग पत्रमा उल्लेख छ ।
साविक लखनपुर र तोपगाछी समायोजन गरि वनेको कमल गाँउपालिकामा ७ वडा छन् । साविक तोपगाछी तर्फ वडा नम्वर १,२,३र४ छन् भने लखनपुरतर्फ वडा नम्बर ५, ६ र ७ रहेका छन् । साविक तोपगाछी गाविसको कार्यलय भवनमा हाल कमल गाउँपालिकाको कार्यलय रहेको छ ।