आजबाट स्वस्थानी व्रत सुरु

झापा। हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने धार्मिक विश्वास रहेको छ ।

व्रत अवधिभर भगवान् शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा व्रतकथा र माघ स्‍नानको प्रचलन रहेको विश्वास रहेको छ। व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्‍नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास छ ।

स्वस्थानी व्रत सुरु भएदेखि राजधानीको साँखुस्थित शालिनदी लगायत अन्य ठाउँमा स्‍नान गर्नका लागि भक्तजन पुग्‍ने गर्छन् । शालीनदीमा आजबाट एक महिनासम्म माधवनारायणको मेलासमेत लाग्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker