एमसिसिका विषयमा अन्यावश्यक हल्लाको पछाडी नलाग्न ढकालको आग्रह

तत्कालिन लखनपुर गाउँविकस समिती हाल कमल गाउँपालिका ६ मा वि सं २०४१ सालमा जन्मनु भएका हरिप्रसाद ढकाल सामाजिक कार्यमा निकै सकृय हुनुहुन्छ ।
चेतना बाल संरक्षण मञ्च, पढ्ने घर लगायत आधादर्जन भन्दा बढी संघ संस्थामा आबद्ध तथा दमक बहुमुखी क्याम्पसमा पुस्तकालय अधिकृतको रुपमा कार्यरत ढकाल पछिल्लो समय राष्ट्रिय स्तरमा चर्चामा रहेको एमसिसिका विषयमा निकै चासो दिईरहनु भएको छ ।

सम्माननीय प्रधानमन्त्रिले अध्ययन नगरीकन एमसिसिको सन्दर्भमा तर्क नगर्न गत साता संसदमा अनुरोध गरेको सन्दर्भमा स्थानीय स्तरमा पनि एमसिसि र नेपाल सरकार अर्थ मन्त्रालय बीच भएको सम्झौतालाई बहसमा ल्याउनुपर्छ र राष्ट्रियताको सवालमा लामो बहसपछि मात्र निर्णयमा पुग्नुपर्छ भन्ने ढकालको मान्यता छ ।

राष्ट्रिय स्तरमा निकै चर्चामा रहेको एमसिसिमा विषयमा ढकाल संग कमलखवरका लागी उमानाथ भण्डारीले गरेको संक्षिप्त कुराकानी ।

एमसिसिसँगको सम्झौता अध्ययन गर्न तपाईंलाई के कुराले झक्झकायो ?

वास्तावमा हामी धेरै जसो नागरिकहरु राष्ट्रको सवालमा राष्ट्रिय स्तरमा बहसमा आएका बिषयहरुलाई खोज र अध्ययन गरी आफ्ना बुझाईहरु सार्वजनिक गर्नुको सट्टा मिडियाको बहसमा आएका र फेसबुकमा लेखिएका कुराहरुको मात्र पछाडि लागी आफ्नो धारणा व्यक्त गर्ने प्रचलन बसिसकेको छ । बिना अध्ययन गरिएका तर्कहरुका पछाडि हामी स्थानीय स्तरमा सामाजिक अगुवाईमा रहेका साथीहरुले पनि लाग्नुहुँदैन भन्ने सन्देश दिन खोजेको हो ।

प्रतिवेदन नै तयार पारी सार्वजनिक गर्नुपर्ने स्थिती चाहिं कसरी भयो ?

हाम्रो देशमा अनेकौं कालखण्डमा अनेकौं सन्धि÷सम्झौताहरु भए तर ती सबै सन्धि÷सम्झौताहरु नेपालको राष्ट्रिय हितमा रही भएको पाइएन । पछिल्लो समयमा संयुक्त राज्य अमेरिकाको एमसिसि र नेपाल सरकारको अर्थ मन्त्रालय बीच १४ सेप्टेम्बर २०१७ मा सम्पन्न सम्झौताको बारेमा नेपालका बिभिन्न सञ्चारमाध्यममा अनेकौं नेताजीहरुका अनेकौं तर्क सहितको नकारात्मक र सकारात्मक बिश्लेषणले गर्दा आम नेपाली नागरिकमा सो सम्झौताको सन्दर्भमा फरक बुझाई रहनसक्ने स्थिती र अवस्थाको आंकलन गर्दै आफ्नो बुझाई सहितको निश्कर्ष नागरिकमा सम्प्रेषण गरी बहसको वातावरण बनाउँदा नागरिकमा रहेको फरक बुझाइलाई सहि बुझाईको रुपमा रुपान्तरण गर्न वान्छनीय हुन्छ कि भन्ने ठानी प्रतिवेदन सार्वजनिक गरेको हुँ ।


कुनै राजनैतिक दलको आस्था त पक्कै राख्नुहुन्छ होला । त्यो आस्थाले अध्ययन र प्रतिवेदनमा प्रभाव पारेन ?

मैले सम्झौता अध्ययन ताका कुनै राजनैतिक दल बिशेष वा कुनै धार बिशेष झुकाव नराखी नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको भावनामा रही अध्ययन गरेको हुँदा प्रतिवेदनमा प्रस्तुत बुँदागत बुझाईका सन्दर्भमा राष्ट्रिय हितलाई सर्वोपरी ठानेको छु । अन्य साथीहरुको फरक बुझाई रहेको भए दलगत र धारगत आधारमा बिशेषणको चिन्ह प्रयोग नगरिदिनुहुन समेत म तपाईं मार्फत अनुरोध गर्दछु । बहस जरुरी छ भन्नुको अर्थ नै एकल अध्ययन र बुझाई पर्याप्त हुँदैन भन्ने नै हो त्यसैले बुँदाभित्रका फरक बुझाईलाई बहसमा ल्याई यथार्थको चुरो भित्र पस्न सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।

आम नागरिकहरुको एमसिसि सम्झौताको बिषयमा गलत धारणा कसरी रहन गयो भन्ने लाग्छ तपाईंलाई ?

एमसिसिसँगको सम्झौताको सन्दर्भमा बिभिन्न बहसका माध्यमबाट आम नेपाली नागरिकहरुमा अमेरिकी सेना प्रवेश गर्ने, राष्ट्रिय सुरक्षामा खतारा हुने, कहिल्यै फर्केर नजाने, बुँदाहरु संशोधन नै नहुने, युरेनियम उत्खनन्को दिशामा अघि बढ्ने, चिनसँगको समदूरी घट्ने लगायतका राष्ट्रिय सार्वभौमिकता माथिको आशंकाहरुलाई मुख्यतः दुई वटा कुराहरुले थप प्रभाव पारेको देखिएको छ ।


क) इन्डो प्यासिफिक रणनीतिक प्रतिवेदन

अमेरिकाको रक्षा मन्त्रालयले १ जुन २०१९ मा सार्वजनिक गरेको यस प्रतिवेदनको पृष्ठ नं. ३८ मा सन् २०१९ बाट नेपाल पनि अमेरिकी रक्षा रणनीतिक साझेदारी देशको रुपमा थप गरिएको छ । त्यस्तै भारतसँग मुख्य प्रतिरक्षा साझेदारी÷नेपाललाई इमर्जिङ पार्टनरसिपको रुपमा अघि सारिएको साथ साथै चिनलाई मुख्य शत्रुको रुपमा चित्रित गरिएको हुँदा हाल मित्रवत सम्बन्ध रहेको चीन सँगको सम्बन्धमा यो सम्झौताले दरार पैदा गर्छ कि भन्ने कुराले सम्झौताको बिषयमा आम नागरिकमा थप शंका र संशय पैदा गरेको बुझिएको छ ।


ख) महाकाली सन्धि

बि.सं. २०५२ साल माघ २९ गते भारतको नयाँ दिल्लीमा नेपाल सरकार र भारत सरकारको बीच सम्पन्न १२ धारामा समेटिएको यो महाकाली सन्धि बराबरीको सिद्धान्तमा आधारित भएर गरिएको भनिएको थियो । तर यो सन्धिमा भारत सरकारको चलाख्याईं र नेपालका राजनैतिक दलका नेतृत्वहरुको पानीको महत्व प्रतिको कम बुझाईले उत्पादित बिद्युत मात्र बराबरी भन्ने तर्फ सन्धिले इङ्गित ग¥यो, पानीको बराबरीको बिषयमा चाहिं बोलेन । परियोजना कार्यान्वयन हुन नसक्दा पानीको बराबरीको सिद्धान्तलाई राष्ट्रिय हितको बिपरित भन्ने अर्थमा आम नागरिकको बुझाई रहन गएको हुँदा एमसिसिसँगको सम्झौताको बिषयमा आम नागरिकमा थप शंका र संशय पैदा गरेको मैले बुझेको छु

तपाईंको बुझाईमा खास के रहेछ त एमसिसि ?

मेरो मात्र बुझाई होइन हामी आम नेपाली नागरिकले बुझ्नुपर्ने यथार्थ चाहिं के हो भने एमसिसि संयुक्त राज्य अमेरिकाको एक सरकारी निगम÷संस्थान हो । नेपाल सरकार अर्थ मन्त्रालयले एमसिसिसँग गरेको सम्झौता अनुसार कार्यान्वयन हुने योजना एमसिसि अन्तर्गतको नेपालमा सञ्चालित हुने कार्यक्रम एमसिए नेपाल मार्फतबाट लागू हुन्छ भन्ने बुझ्नुपर्छ ।

सम्झौताको लेखन र तपाईंको बुझाईमा केही फरक रहन गयो ?

राष्ट्रियताको भावनामा अधिनस्त रही अध्ययनरत् रहँदा ताका नेपालको सार्वभौमिकतालाई खण्डित गर्न सक्ने भनी बिभिन्न सञ्चार माध्यममा चलेका बहसमा मैले आफूले टिपोट गरेका बिशेष बुँदा र सम्झौतामा उल्लेखित केही बुँदाहरुका सम्बन्धमा रहेको बुझाई मैले प्रतिवेदन मार्फत सार्वजनिक गरेको छु । अवश्य पनि राष्ट्रियताको सवालमा एमसिसिसँगको सम्झौतामा मेरो बुझाई फरक रहन गयो । एमसिए नेपालको लेखापरीक्षण, सम्झौता नै हुन नसक्ने भनी सञ्चारमाध्यममा आएका टिप्पणी, सम्झौता अन्त्य गर्ने सवाल, नेपालको कानुनसँग सम्झौता बाझिएको सन्दर्भमा लागू हुने कानुन, योजना उपर भारत सरकारको समर्थनको बिषय लगायत अन्य बुँदागत बिषयहरुमा बिल्कुलै भिन्न बुझाई रहन गयो । सम्झौतामा लेखिएको र मैले बुझेको बिषयलाई प्रष्ट रुपमा प्रतिवेदनमा उल्लेख गरेको छु ।

अन्त्यमा राष्ट्रिय बहसमा आएको यो सम्झौताको सन्दर्भमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा आम नागरिकहरुमा म के अपिल गर्न चाहन्छु भने सबै जना अध्ययन गरौं, आ–आफ्नो धारणा बनाई यो सम्झौता लगायत भविष्यमा हुनसक्ने अन्य राष्ट्रियताको सवालमा हुन गइरहेका सम्झौताहरुको सन्दर्भमा समेत स्थानीय स्तरमा पनि बहसको वातावरण बनाई केन्द्रिय नेतृत्वमा रहने नेतागणहरुमा यथार्थपरक निर्णय लिन दबाब सिर्जना गरौं । उर्जा व्यापारमा सहजीकरण, रणनीतिक सडक सञ्जाल बिस्तार र आर्थिक बिकास मार्फत नेपालमा गरिवी न्यूनीकरण गर्ने जस्ता उद्येश्य र लक्ष्य राखी सम्झौता गरिएको ५० करोड अमेरिकी डलरको यो परियोजना नेपालको लागि ठूलो कार्यक्रम हो । कार्यक्रम कार्यान्वय गराउन गरिएका सम्झौताका राष्ट्रियता र नेपालको सार्वभौमिकतासँग अस्पष्ट हुने र असमान बुँदाहरुमा नेपालको सार्वभौमसत्ता र अखण्डता नगुम्ने आशय राखी आवश्यक संशोधन गरी पास गरौं भन्न चाहन्छु ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker