महामारीको कारण विद्यालय शिक्षामा देखिएको अन्योलता

विजय अधिकारी

कोरोना भाइरसको कारण उत्पन्न महामारीबाट विश्वले ठुलो भौतिक एवम् मानवीय क्षति ब्यहोरिरहेको वर्तमान परिप्रेक्षमा नेपालमा पनि त्यसको प्रत्यक्ष असर देखा परेको छ । गत सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुवेई राज्यको उहान सहरमा उत्पन्न भई इटाली, स्पेन, इरान, अमेरिका आदि राष्ट्र हुँदै फैलिएको कोभिड १९ महामारीले आज विश्वका प्रायस् सबै मुलुकहरू प्रताडित छन् । यस घातक महामारीबाट आजसम्म विश्वमा ५५ लाखभन्दा बढी मानिसहरू सङ्क्रमित भइसकेका छन् र झन्डै साढे तीन लाख मानिसहरूले ज्यान गुमाइसकेका छन् । हाम्रो देशमा समेत यस रोगको सङ्क्रमण दिनप्रतिदिन फैलिँदै गइरहेको छ । मानव जनजीवनका विविध क्षेत्रमा यसको प्रतिकूल असर परिरहेको सन्दर्भमा विशेष गरी शिक्षा क्षेत्र बढी आक्रान्त बन्दै गइरहेको पाइएको छ ।
विद्यालयका वार्षिक परीक्षाहरू गत चैत ५ गतेभन्दा अगावै लिइसक्नुपर्ने गरी सरकारले निर्देशन गरे बमोजिम हतार(हतार परीक्षा सञ्चालन गरिसकेर चैत ५ गतेदेखि नै सम्पूर्ण विद्यालयहरू बन्द गर्नुपरेको थियो भने एसइई परीक्षा, कक्षा ११ र १२ को परीक्षा तथा क्याम्पस स्तरका परीक्षाहरू पनि रोक्न बाध्य हुनुपर्याे । चैत ११ गतेदेखि चरण(चरण गरेर लम्ब्याइँदै आएको लक डाउन आजसम्म पनि जारी रहेको छ ।
अहिले सङ्कटमा रहेको शिक्षा क्षेत्रलाई कसरी सङ्कटमुक्त गराउने भन्ने विषयमा अन्योलता देखा परेको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरूले सामाजिक सञ्जाल र रेडियो मार्फत परीक्षाफल प्रकाशित गरे । त्यसपछि नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक वितरण, विद्यार्थीहरूको भर्ना अभियान, पठनपाठनको थालनी सबै स्थगित छन् । प्रधानाध्यापकहरू, शिक्षकहरू र विद्यार्थीहरू बिलखबन्दमा परेका छन् । शिक्षकहरूले घरमा बसीबसी तलब खाने भए भनेर कतिपय मानिसहरूले डाहा र ईर्ष्याका आँखाहरू तेर्स्याइरहेका पनि छन् । विद्यालय शिक्षालाई हाल यसरी अगाडि बढाउनुपर्छ भनेर केन्द्रबाट, जिल्लाबाट र स्थानीय तहबाट समेत कुनै निर्देशन र परिपत्र जारी भएको छैन । कतिपय निजी विद्यालयहरूले अनलाइन शिक्षाको अवधारणा अघि सारेर विद्यार्थीहरूसँग अतिरिक्त शुल्क समेत लिएको कुरा सुनाइमा आएको छ । सामुदायिक विद्यालयहरूले समेत अनलाइन प्रविधिको माध्यमबाट विद्यार्थीहरूलाई शिक्षा दिनुपर्छ भन्ने विचार पनि कतिपय बुद्धिजीवीहरूले राख्ने गरेका छन् ।
वास्तवमा शिक्षा क्षेत्र भनेको राज्यको एक महत्त्वपूर्ण क्षेत्र हो । बालबालिकाहरूलाई भोलिका कर्णधार र सक्षम नागरिक तयार गर्ने विद्यालयको पठनपाठन लामो समयसम्म ठप्प हुँदा त्यसबाट दक्ष जनशक्ति उत्पादनमा ठुलो अवरोध खडा हुन सक्छ, बालबालिकाहरूको सुन्दर भविष्य निर्माणमा तगारो लाग्न सक्छ । लामो समयसम्म विद्यालय नजाँदा बालबालिकाहरूको जिज्ञासु स्वभाव, प्रतिभा प्रस्फुटन र विकासको सम्भावनामा समेत उदासीनता पैदा हुन्छ । यसबाट बालबालिकाहरूको मनोविज्ञानमा प्रतिकूल प्रभाव पर्न सक्छ । त्यसैले यस विकट र विषम परिस्थितिमा समेत बालबालिकाहरूलाई कुनै न कुनै तरिकाबाट अध्ययनशील रहिरहने वातावरण तयार गर्नु नितान्त आवश्यक छ ।
शिक्षाको पहुँचलाई के धनी के गरिब सबै समक्ष समान रूपमा पुर्याउनु राज्यको दायित्व हो । प्रविधिको माध्यमबाट अनलाइन शिक्षा दिँदा के सबै बालबालिकासामु त्यसको पहुँच पुग्न सक्छ त ? हुने खानेहरूले मात्र शिक्षा लिन पाउने, अनि हुँदा खानेहरूले चाहिँ ट्वाल्ल परेर हेरिरहने वातावरण बन्नु दुस्खको कुरा हो । यसबाट अनिवार्य शिक्षा प्रवाहमा ठुलो खाडल उत्पन्न हुन सक्छ । तसर्थ अनलाइन शिक्षाको नाममा मनोमानी ढङ्गबाट शुल्क असुल्दै वर्ग विभेद गर्नु उचित नहुने देखिन्छ । निजी विद्यालयहरूको सिको गरेर कतिपय बुज्रुकहरूले सामुदायिक विद्यालयका विद्यार्थीहरूको निम्ति समेत अनलाइन शिक्षा सञ्चालन गर्नुपर्ने विचार अघि सारेको पाइन्छ । दैनिक दुई छाक खान समस्या पर्ने परिवारमा कम्प्युटर, ल्यापटप, नेट चल्ने खालको राम्रो मोबाइल, वाइफाईको उपलब्धता हुन्छ कि हुँदैन, यसतर्फ पनि गम्भीरतापूर्वक सोच्नु जरुरी छ ।
वास्तवमा आज विद्यार्थीहरू ज्ञान, सिप र अभिवृत्तिको समुचित विकास गर्न नपाएर मर्कामा परेका छन् । यो दुस्खको कुरा हो । शिक्षा क्षेत्रका जिम्मेवार पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापकहरू, शिक्षकहरू, बुद्धिजीवीहरू, शैक्षिक सरोकारवालाहरू सबैले यस सम्बन्धमा अनलाइन कन्फरेन्स र छलफल गरेर एउटा निश्चित सोच र धारणा बनाई अघि बढ्नुपर्दछ । स्थानीय क्षेत्रको एफएमररेडियोको माध्यमबाट घरघरमा दूर शिक्षा पुर्याउँदा उचित हुने विचार पनि कतिपय बुद्धिजीवीहरूले राखेको पाइएको छ । गणित, विज्ञानजस्ता बोलेर मात्र प्रष्ट पार्न नसकिने, गरेर देखाउनु पर्ने विषयहरूको शिक्षा रेडियोको माध्यमबाट प्रभावकारी हुन सक्ला कि नसक्ला भन्ने सम्बन्धमा पनि सोच्नु जरुरी देखिन्छ ।
अन्त्यमा, हाल विद्यालय शिक्षामा उत्पन्न भएको गतिरोधलाई हटाउन के कसरी अघि बढ्ने भन्ने सम्बन्धमा शिक्षा मन्त्रालय तथा शैक्षिक एकाइहरूबाट समेत निर्देशन र सल्लाह आउन सकोस् र आपसी समन्वयबाट समस्या समाधानका उचित कदमहरू चाल्दै अघि बढ्न सकियोस् भन्ने कामना गर्नु मनासिव देखिन्छ ।

लेखक ः कमल गाउँपालिका २ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker