गरिबलाई सरकारी घर

इलाम –सरकारले इलाम, पाँचथर, ताप्लेजुङ र झापाका निम्न वर्गीय परिवारलाई एक हजार दुई सयभन्दा बढी घर बनाइदिँदै छ । संघीय र प्रदेश सरकारको लगानीमा विपन्न दलित, मुस्लिम, लोपोन्मुख र अति सीमान्तकृत परिवारका लागि ‘जनता आवास’ कार्यक्रममार्फत ती घर निर्माण सुरु गरिएको हो । झापामा ९ सय, इलाममा एक सय, पाँचथरमा एक सय १५ र ताप्लेजुङमा ९५ घर निर्माणका क्रममा छन् ।

झापामा तीन सय ६४ घर निर्माण भइसकेका छन् । बाँकी तीन जिल्लामा यसै आर्थिक वर्षभित्र निर्माण सुरु हुने इलामस्थित सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । चारै जिल्लामा निर्माण भइरहेका घरको प्राविधिक पक्ष हेरिरहेको कार्यालयका अनुसार घर निर्माणका लागि इलाम, पाँचथर र ताप्लेजुङमा विवरण संकलन अन्तिम चरणमा छ । ‘कुन जिल्लामा कति घर निर्माण हुने भन्ने तथ्यांक आइसकेको छ,’ कार्यालयका निमित्त प्रमुख सुमनकुमार मिश्रले भने, ‘संख्या आए पनि केही स्थानीय तहमा कस–कसका घर निर्माण गर्ने भन्ने तथ्यांक आउन बाँकी छ । तथ्यांक आएपछि असारभित्रै निर्माणको काम थाल्ने हाम्रो लक्ष्य छ ।’

संघीय सरकारले पहाडी तीन जिल्लामा ५०-५० र प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा ५ घर निर्माण गर्ने भएका छन् । निर्माण हुने घर छनोट गर्न विभिन्न ९ पक्षलाई आधार मानिएको फाराम भर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । घर निर्माण गर्दा जिल्लाका सबै निर्वाचन क्षेत्र समेट्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ । प्रत्येक घर बनाउन सरकारले तीन लाख ३२ हजार पाँच सय रुपैयाँ दिनेछ । ‘स्थानीय स्तरमै उपलब्ध सामग्री प्रयोग गरी घर बनाइन्छ,’ मिश्रले भने, ‘९-९ फिटका दुई कोठा, पाँच फिटको बरन्डा र एउटा चर्पीसहितको घर निर्माण हुनेछ ।’

जस्ताको छानो, इँटा वा ढुंगाको गाह्रो र काठ–बाँस प्रयोग हुने घर सामग्री सहज उपलब्ध भए महिना दिनभित्रै निर्माण भइसक्ने उनले जनाए । इलामका लेप्चा, थामी, दलित र मेचे जातिले सरकारी घरको सुविधा पाउँदै छन् । सूर्योदय नगरपालिकामा १५, इलाम, माई, देउमाई नगरपालिका, सन्दकपुर, माईजोगमाई, चुलाचुली, फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकामा १०-१० तथा रोङ गाउँपालिकामा लक्षित समुदायका पाँच घर निर्माण हुने कार्यालयले जनाएको छ । पाँचथरमा माझी र दलित तथा ताप्लेजुङका दलित समुदाय यसको लाभग्राही सूचीमा परेका छन् ।

घर बनाउँदा कार्यालयले तीन किस्तामा भुक्तानी दिनेछ । काम सुरु गरी डिपिसीको अवस्था पुगेपछि पहिलो किस्तामा २५ प्रतिशत, गारो जोडेपछि दोस्रो किस्तामा ३० प्रतिशत र काम सकेपछि अन्तिम किस्ता रकम दिइने कार्यालयले जनाएको छ । घर निर्माणका लागि झापामा संघीय सरकारबाट दुई करोड, प्रदेश सरकारबाट ५० लाख, प्रदेशबाट इलाममा एक करोड, पाँचथरमा ८० लाख र ताप्लेजुङमा ९० लाख रुपैयाँ खर्च हुने मिश्रले जानकारी दिए ।

हाम्रोसरोकारडटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker