नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने बेलायतको प्रतिबद्धता

 संयुक्त अधिराज्य (बेलायत)ले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उनकै कार्यकक्षमा भएको भेटमा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गरेका हुन् ।

नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको भेटवार्तामा बेलायतबाट नेपाललाई निरन्तर सहायता प्राप्त भएकामा मन्त्री ज्ञवालीले हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

नेपालको विकास–निर्माण, शान्ति प्रक्रिया, आपतकालीन सहयोगलगायत बेलायतबाट प्राप्त सहयोग, नेपालको विकासको विश्वासिलो साझेदार तथा बहुआयामिक सम्बन्धयुक्त उक्त देशप्रतिको नेपाल र नेपालीको धारणाजस्ता विषयमा आफूहरूले छलफल गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान, उनीहरूका मागको उचित सम्बोधन तथा त्यसको निरुपणलाई आर्थिक दायरामा मात्र सीमित नराखेर योगदानको मूल्याङ्कन हुनुपर्नेमा आफूले जोड दिएको उनले बताए ।

भूपू गोर्खा सैनिकका गुनासा सम्बोधनमा अधिकतम लचिलो हुन आग्रह गरेको र प्रत्युत्तरमा राज्यमन्त्री ल्याङकेष्टरले सकारात्मक जवाफ दिएको उनले जानकारी दिए । उनीहरूका समस्या समाधान गर्नुपर्ने आफ्नो सुझावलाई पनि राज्यमन्त्रीले सकारात्मक रुपमा लिएको मन्त्री ज्ञवालीले बताए ।

भूपू गोर्खा सैनिकका गुनासा र समस्या सम्बोधनका सिलसिलामा बेलायत सरकारले निकट भविष्यमा घोषणा गर्ने तयारी गरेको जानकारी आफूलाई दिएको मन्त्री ज्ञवालीले बताए । (रासस)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker